प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात


काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा निकासा भइसकेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको पूर्वाधार पुनर्निर्माण तथा नागरिकको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीले उपलब्ध सरकारी स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत प्रभावकारी रूपमा परिचालन गरी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई अघि बढाउने बताउनुभएको छ।