अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाँदै

भारतीय अर्थमन्त्री सीतारमणको निमन्त्रणामा दिल्ली जाने, नेपाल–भारत सहकार्य र विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्ने


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जाने भएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा जाने तय भएको हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले नयाँदिल्ली जान लागेका हुन्। भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

विशेषगरी नेपाल–भारत आर्थिक सहकार्य, विकास साझेदारी तथा विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।

नेपालमा पछिल्लो समय बाढीपहिरोलगायतका विपद्बाट ठूलो क्षति भएकाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक सहयोग तथा सहकार्यका विषयमा समेत अर्थमन्त्री वाग्लेले भारतीय पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको छ।

भ्रमणलाई नेपाल–भारतबीच आर्थिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।