काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनदेखि केन्द्रसम्म हुने सबै तहका अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
मंगलबार अपिल जारी गर्दै थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउन कांग्रेसजनलाई आग्रह गरेका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ।
संविधान, नेपाली कांग्रेसको विधान तथा प्रचलित कानुनअनुसार महाधिवेशन हुन लागेको उल्लेख गर्दै थापाले पार्टीको बृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
लोकतन्त्रमा फरक मत स्वाभाविक भएको बताउँदै उनले पार्टीभित्र देखिने मतभेद र असमझदारीलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिकै आधारमा समाधान खोज्ने परम्परा रहेको उनको भनाइ छ।
नवीकरण भएका सबै क्रियाशील सदस्य सहभागी हुने
थापाका अनुसार पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिएको छ।
सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुङ्ग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन्। निर्वाचन अधिकृतहरू समेत जिल्लामा खटिइसकेको अपिलमा उल्लेख छ।
तत्कालीन केन्द्रीय सदस्यलाई पनि वर्तमान कार्यसमितिमा समावेश
विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरिसकेको थापाले बताएका छन्।
उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिमा सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै उनले उनीहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन आग्रह गरेका छन्।
थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने सबै तहका अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन विशेष आग्रह गरेका छन्।
वडा तहबाट सुरु हुने महाधिवेशन अभियानले कांग्रेसलाई अझ एकताबद्ध, गतिशील र राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो पार्टी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
साथै उनले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्दै १५औँ महाधिवेशन सफल बनाउन अपिल गरेका छन्।


















प्रतिक्रिया