भरतपुरबाट अन्तर्राष्ट्रिय कल बाइपास, भारतीय नागरिक पक्राउ


चितवन । भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय कथराम निथिन रहेका छन् ।

सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटासँगको प्राविधिक समन्वयमा उनलाई भरतपुर महानगरपालिका–२, आँपटारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिम, १८ थान नेपाल टेलिकमका सिम र ४ थान सीपीयू बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा बरामद उपकरणहरू भीओआईपी सञ्चालनमा प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ विपरीतको कसुरमा पक्राउ परेका निथिनमाथि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको छ ।