आज बस्दैछ मन्त्रिपरिषद् बैठक, १३ देशका राजदूत नियुक्त हुँदै


काठमाडौँ – सरकारले आज शुक्रबार विभिन्न १३ देशका लागि नयाँ राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद् बैठकबाट रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा राजदूत सिफारिस गर्न लागिएको हो।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी असोज ६ गते न्युयोर्क प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले कुल २१ देशका लागि राजदूत सिफारिस गर्ने तयारी गरेका छन्।

सरकारले जेठमा आह्वान गरेको खुला आवेदनमा परेका प्रतिस्पर्धीमध्येबाट १३ देशका लागि राजदूत छनोट गर्ने तयारी गरेको हो। बाँकी ८ देशमा भने परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई राजदूतका रूपमा सिफारिस गर्ने तयारी छ।

लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट गर्ने सरकारको प्रक्रियालाई चासोका साथ हेरिएको छ। अधिकारीहरूका अनुसार चार महिनादेखि अघि बढेको राजदूत छनोट प्रक्रिया आजको निर्णयसँगै टुंगोमा पुग्नेछ।

हाल अमेरिका, चीन, भारत, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, बेलायत, कतार, रुस, साउदी अरेबिया, श्रीलंका र स्पेनलगायत देशमा नेपाली राजदूतको पद रिक्त छ।