काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तथा संविधान दिवसको अवसरमा पार्टीले वडा तहबाटै महाधिवेशनको लोकतान्त्रिक प्रक्रिया सुरु भएको जनाएको छ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशन संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित सम्पन्न हुने बताएका छन्।
थापाले संविधानका केही विषय समयअनुकूल संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै संविधानका मूल मूल्य र मान्यतालाई कमजोर नबनाई अझ विस्तार र सुदृढ गर्ने गरी संशोधनको आवश्यकता रहेको बताएका हुन्।
उनका अनुसार यस विषयमा आवश्यक साहस र स्पष्टता पार्टीको १५औँ महाधिवेशनबाट प्रस्तुत गरिनेछ।
कांग्रेसले महाधिवेशनको प्रक्रियासँगै देशभरका गाउँ, नगर र वडा तहमा नयाँ उत्साह र ऊर्जा देखिएको जनाएको छ। पार्टीले महाधिवेशनको अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।
संविधान दिवसका अवसरमा कांग्रेसले देशवासीमा हार्दिक शुभकामना व्यक्त गरेको छ।


















प्रतिक्रिया