डा. सुनील शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकका लागि निःशुल्क उपचार तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताइन्छ। त्यस्तै, अवसरबाट वञ्चित विद्यार्थीलाई शैक्षिक सहयोगलगायतका गतिविधिमा समेत उनी संलग्न रहँदै आएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हालेपछि पनि स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको फाउन्डेसनले जनाएको छ।

बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधि पदमा शर्मा निर्विरोध निर्वाचित भएका हुन्। सो वडाबाट महाधिवेशनका लागि चयन हुने अन्य प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएको जनाइएको छ।

वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत भएपछि कांग्रेसको स्थानीय संगठनभित्र सहमति र समझदारी कायम रहेको पार्टीका स्थानीय नेताहरूले बताएका छन्। यद्यपि, महाधिवेशनको आगामी प्रक्रियामा प्रतिनिधि छनोट र नेतृत्व चयनका अन्य चरणहरू बाँकी नै छन्।