‘राइट टु रिकल’ कार्यान्वयनमा ल्याउने पार्टीको घोषणा: प्रवक्ता खरेल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने भएको छ । पार्टीको सचिवालय बैठकले यस विषयमा छलफल गर्दै आवश्यक प्रक्रिया तयार गर्न महामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको समितिलाई काम अघि बढाउन दिने निर्णय गरेको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार समितिले तयार पार्ने निष्कर्षका आधारमा पार्टीले ‘राइट टु रिकल’ कार्यान्वयनसम्बन्धी निर्णय गर्नेछ । उनका अनुसार पार्टीले स्थापनाकालदेखि नै यो विषय उठाउँदै आएको छ ।

भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । हालसम्म नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनमा ‘राइट टु रिकल’ को स्पष्ट व्यवस्था छैन, त्यसैले यसको कार्यविधि र कानुनी आधारबारे थप अध्ययन तथा छलफल आवश्यक रहेको जनाइएको छ ।