. भोटेकोशी–त्रिशूली बाढीपीडितलाई टेलिकमको सञ्चार राहत


काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित जिल्लाका नागरिकका लागि निःशुल्क इन्टरनेट, सिमकार्ड तथा अन्य सञ्चार सुविधा उपलब्ध गराएको छ।

टेलिकमका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँलगायत प्रभावित क्षेत्रमा बाढीले क्षति पुर्‍याएका एनटी फाइबरका केबल तथा राउटर निःशुल्क उपलब्ध गराई सेवा पुनःजडान गरिनेछ। सेवा अवधि सकिएका ग्राहकलाई तीन महिनाको निःशुल्क म्याद थप गरिएको छ भने हराएका सिमकार्डसमेत निःशुल्क पुनःवितरण गरिनेछ।

उद्धार तथा राहतका क्रममा सञ्चार सम्पर्क सहज बनाउन नेपाली सेनासँगको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ। त्यस्तै, मानसिक स्वास्थ्य परामर्शका लागि टोल–फ्री नम्बर १६१०५०००४०२ तीन महिनासम्म निःशुल्क गरिएको छ।

राहत संकलन स्थल, जिल्ला प्रशासन कार्यालय तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना संकलन र प्रवाहका लागि १०० एमबिपिएस क्षमताको उच्च गतिको निःशुल्क इन्टरनेट र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ।

टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि कर्मचारीको योगदानसहित करिब २० करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। प्रवक्ता डा. कमल लामिछानेका अनुसार बाढीबाट क्षतिग्रस्त दूरसञ्चार पूर्वाधार पुनर्निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइएको छ।