काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जेन्जी आन्दोलनका क्रममा घाइते भएका युवाको उपचार, परिचयपत्र र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पाठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था र उनीहरूको मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनका अनुसार झापामा ६ दिनदेखि केही आन्दोलनकारी आमरण अनशनमा छन्। परिचयपत्र, निःशुल्क शिक्षा तथा दीर्घकालीन व्यवस्थापनको माग राखेर अनशन बसेकाहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनले बताए।
पाठकले झापामा प्रहरीको गोली लागेर मृत्यु भएका गोपाल सेढाईँ र दिनेश राजवंशीको प्रसंग उठाउँदै एउटै आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद मान्ने तर घाइते भएकालाई बेवास्ता गर्ने अवस्था उचित नभएको बताए। उनले झापामा मात्रै १०८ जना घाइते भएको र तीमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएको जानकारी दिए।
उनले सरकारसँग प्रश्न गर्दै राज्यले पीडितको संरक्षण गर्ने कि पीडकको भन्ने विषयमा जवाफ दिनुपर्ने बताए। लोकतान्त्रिक सरकार भए आन्दोलनका घाइतेलाई तत्काल न्याय, उपचार र आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
पाठकले आन्दोलनमा राज्य पक्षबाट भएको बल प्रयोगबारे समेत प्रश्न उठाउँदै सरकारलाई आफ्ना निर्णय र कार्यशैलीबारे गम्भीर समीक्षा गर्न आग्रह गरे।


















प्रतिक्रिया