काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयपछि पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको दिशामा अघि बढाउन दुई प्रमुख कार्यभारसहित १५ बुँदे कार्ययोजना अघि सारेका छन्।
सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले पहिलो कार्यभारका रूपमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा दोस्रो कार्यभारका रूपमा आगामी निर्वाचनको तयारीलाई अघि सारेका हुन्।
ओलीले संविधान, न्यायालय, प्रेस तथा नागरिक स्वतन्त्रताको रक्षा र विधिको शासनका लागि राजनीतिक तथा कानुनी सङ्घर्ष जारी राख्ने बताएका छन्। साथै, आगामी स्थानीय तहसहितका निर्वाचनलाई लक्षित गर्दै वडा तहसम्म सङ्गठनलाई योजनाबद्ध रूपमा परिचालन गर्ने योजना उनले अघि सारेका छन्।
दुई कार्यभार पूरा गर्न ओलीले ‘सत्य संवाद’मार्फत जनतासँग जोडिने, महँगी र बेरोजगारीका मुद्दामा जनकेन्द्रित प्रतिपक्षको भूमिका निर्वाह गर्ने तथा डिजिटल माध्यमबाट पार्टीको सञ्चार प्रणाली सुदृढ गर्ने योजना प्रस्तुत गरेका छन्।
त्यस्तै, सङ्गठनलाई परिणाममुखी बनाउने, युवा र महिलालाई नेतृत्वदायी जिम्मेवारी दिने, खुला बहस र अनुशासनबीच सन्तुलन कायम गर्ने तथा रोजगारी र अर्थतन्त्रका लागि वैकल्पिक शासन–खाका अघि सार्ने प्रस्ताव प्रतिवेदनमा छ।
विपद् तथा राहतमा सक्रियता, नीति–अनुसन्धानमा आधारित पार्टी निर्माण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय समस्या समाधान, प्रवासी नेपालीसँग सहकार्य, सन्तुलित कूटनीतिमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा तथा कडाइका साथ सदस्यता वितरण गरी जनआधारित सङ्गठन निर्माण गर्ने योजना पनि ओलीले अघि सारेका छन्।



















प्रतिक्रिया