रौतहट । तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले बिहारको पूर्वीचम्पारणस्थित कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारीलाई पक्राउ गरेको हो। परिवारलाई जानकारी नदिई मकवानपुरका तीन किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ।
उद्धार गरिएका किशोरीहरू मकवानपुरको राईगाउँका १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अन्सारीले किशोरीहरूलाई प्रलोभनमा पारी भारत लैजान खोजेको आशंका गरिएको छ।
वीरगञ्ज–रक्सौल र गौर नाकामा सुरक्षा निगरानी कडा रहेकाले ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी किशोरीहरूलाई भारत लैजान खोजिएको भारतीय प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार अन्सारीको साथबाट इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड तथा नेपाली र भारतीय रुपैयाँ बरामद भएको छ। उनी पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा हुन्।
मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि उद्धार गरिएका किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइनेछ। रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले पनि भारतीय प्रहरीसँग समन्वय भइरहेको र कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल ल्याइने जानकारी दिए।



















प्रतिक्रिया