काठमाडौं । बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट पुलमा बटारिएका लठ्ठा सिध्याउने, Sag Setting, Hand Rail Cable परिवर्तन तथा नयाँ Steel Deck र Beam जडान गर्ने काम सम्पन्न गरिएको हो। पुलमा जाली राख्ने काम पूरा भएपछि करिब दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याइने जनाइएको छ।
रसुवा बाढीपछि प्रभावित क्षेत्रमा हालसम्म ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइनसहित नुवाकोटको देविघाट, रसुवाको स्याफ्रुबेँसी–चिलिमे र हाकुबेंसी क्षेत्रमा तुइन सञ्चालनमा ल्याइएको हो।
त्यस्तै, थप ३ वटा तुइन जडानको तयारी भइरहेको छ। पैरेबेँसीमा निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ भने स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरियाका कारण स्थान परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ। रुङ्गा क्षेत्रमा रेकी भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न क्षेत्रमा रहेका यी पुलको मर्मतसँगै स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
यसैगरी, बाढीबाट क्षतिग्रस्त बाँकी ७ वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ। पहिलो चरणका आवश्यक स्टिल पार्ट्स खरिद भइसकेका छन् भने दोस्रो चरणका लागि सम्झौता भएको छ।
बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने काम अन्तिम तयारीमा पुगेको जनाइएको छ।
बाढीपछि अवरुद्ध स्थानीय आवतजावतलाई सहज बनाउन तुइन तथा झोलुङ्गे पुलको मर्मत, पुनःनिर्माण र वैकल्पिक आवागमनको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको छ।



















प्रतिक्रिया