यातायात ऐनको दफा १७१ व्यवहारिक छैन : सांसद आशिका


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक नभएको भन्दै संशोधन वा खारेज गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ट्राफिक कारबाहीविरुद्ध उजुरी गर्न काठमाडौंस्थित यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष जानुपर्ने व्यवस्था सर्वसाधारणका लागि झन्झटिलो भएको बताइन् ।

‘५ सय रुपैयाँको जरिवाना चित्त नबुझेर ५० हजार खर्च गरी काठमाडौँ धाउनुपर्ने कस्तो व्यवस्था हो ?’ उनले प्रश्न गरिन् ।

तामाङले प्रत्येक जिल्लाबाटै अनलाइन प्रणालीमार्फत ट्राफिक कारबाहीविरुद्ध उजुरी दिन सक्ने व्यवस्था गर्नुपर्ने बताइन् । साथै, ट्राफिक प्रहरीले अनिवार्य रूपमा बडी क्यामेरा प्रयोग गर्ने व्यवस्था गर्न र चालक तथा यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन माग गरिन् ।