काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचनमा पार्टीले व्यहोरेको धक्कालाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा जगाउनुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था सिर्जना भएको बताएका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले पार्टी पुनर्गठनको बहस तल्लो तहसम्म पुग्दा आन्तरिक ध्रुवीकरण बढेको बताए। उनका अनुसार पार्टीभित्रको बहसले संगठन सुदृढ बनाउनुको सट्टा कार्यकर्ता तहसम्मै कित्ताकाट हुने अवस्था सिर्जना गरेको छ।
‘आजका सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष हो र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्क गर्ने, पार्टीका नियमित कामलाई समेत अवरुद्ध गर्ने र पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना गर्ने स्थिति उत्पन्न भयो,’ उनले भने।
पुनर्गठनको बहसलाई नै पार्टी विभाजनको पूर्वाभ्यासजस्तो गरी प्रस्तुत गर्ने प्रवृत्ति देखिएको ज्ञवालीले बताए। अब पुनर्गठन कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।
ज्ञवालीले पार्टी एकताको नेतृत्व अध्यक्षले नै गर्नुपर्नेमा जोड दिए। ‘पार्टीको आन्तरिक लडाइँमा जित्नुपर्ने अब कुनै लडाइँ बाँकी छैन,’ भन्दै उनले नेतृत्वलाई अब योजनाबद्ध नेतृत्व विकासमा केन्द्रित हुन आग्रह गरे।
पार्टीको मुख्य नेता तथा अभिभावकका रूपमा अध्यक्षको भूमिका पार्टीभित्र भावनात्मक एकता कायम गर्न महत्वपूर्ण हुने उनको भनाइ छ।
‘पार्टीको आन्तरिक एकता खलबलिनु धक्काको कारण’
ज्ञवालीले एमालेले निर्वाचनमा धक्का व्यहोर्नुको प्रमुख कारणमध्ये पार्टीको आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिँदै जानु रहेको बताए।
उनले पार्टीभित्र प्रतिस्पर्धालाई पूर्ण रूपमा निषेध गर्न नसकिने भन्दै त्यसलाई स्वस्थ बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकतामा रूपान्तरण गर्ने नयाँ विधि आवश्यक रहेको बताए।
‘प्रतिस्पर्धालाई निषेध गर्न सकिँदैन, तर त्यसलाई स्वस्थ कसरी बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकतामा कसरी रूपान्तरण गर्ने ? नयाँ विधि खोज्नै पर्ने भएको छ,’ उनले भने।
त्यसका लागि नेतृत्वको निष्पक्ष र अभिभावकीय भूमिका आवश्यक रहेको ज्ञवालीले बताए।
‘सबैभन्दा धेरै अवसर पाएकाहरू नै असन्तुष्ट’
ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाएका व्यक्तिहरू नै बढी असन्तुष्ट देखिनुका कारणबारे पनि प्रश्न उठाए।
‘अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश सम्प्रेषित भएर हो कि अवसर दिँदा सही मूल्याङ्कन नभएर हो ?’ उनले प्रश्न गरे।
आफ्नो नाममा छुट्टै प्रतिवेदन नरहेको स्पष्टोक्ति
पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा आफ्नो नाम जोडिएर चर्चा भएकोप्रति पनि ज्ञवालीले स्पष्ट पारे। उनले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको बताए।
आफूले लामो समयदेखि लेखन गर्दै आएको र विभिन्न पुस्तक, लेख तथा अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत सामग्री रहेको उल्लेख गर्दै उनले आफूलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता नरहेको बताए।
पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिकामा उभिनु गलत नभएको उनको भनाइ छ। ध्रुवीकरण बढेका बेला कुनै एक कित्तामा उभिएर अतिवादी धारणा राख्दा सञ्चारमाध्यममा बढी चर्चा पाउन सकिए पनि त्यसले पार्टीको समस्या समाधान नगर्ने उनले बताए।
‘मिडिया हाइपले कोही दिगो नेता बन्दैन’
ज्ञवालीले पार्टीभित्रका विषयलाई पूर्वप्रक्षेपण गर्दै मिडिया ट्रायल गर्ने र असहमतिलाई विरोधका रूपमा सामाजिक सञ्जालमा फैलाउने प्रवृत्ति बढेको बताए।
यस्तो प्रवृत्तिले तत्काल सन्तुष्टि वा चर्चा दिलाउन सक्ने भए पनि त्यसले दीर्घकालीन राजनीतिक नेतृत्व निर्माण नगर्ने उनको भनाइ छ।
पार्टीभित्र देखिएका समस्या समाधानमा सबै नेताकार्यकर्ताले योगदान गर्नुपर्ने भन्दै ज्ञवालीले आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ र संस्थागत बनाउँदै पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।



















प्रतिक्रिया