‘ओलीलाई हटाउने विषयमा छलफलसमेत हुँदैन’ : शेरबहादुर तामाङ


काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नभएको बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना मात्रै भएकाले अहिले नेतृत्व परिवर्तनको विषय उठाउन आवश्यक नरहेको बताए।

उनले एमालेको विधानअनुसार राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएको उल्लेख गर्दै पाँच वर्षका लागि उनी नै पार्टी अध्यक्ष रहने बताए।

‘५ वर्ष उहाँ नै पार्टी अध्यक्ष भएर अगाडि बढ्नुहुनेछ। यसमा अर्को कुनै छलफल हुँदैन। ५ वर्ष कसैले पनि केपी ओलीलाई हटाउन सक्दैन। अर्को कुनै छलफल हुँदैन,’ तामाङले भने।

उनले अन्य राजनीतिक दलमा निर्वाचनमा कमजोर परिणाम आए पनि तत्काल नेतृत्व परिवर्तन नभएको उदाहरण दिँदै एमालेमा मात्रै अध्यक्ष परिवर्तनको विषय किन उठाइएको भन्दै प्रश्न गरे।

तामाङले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्धारित कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राख्दै ओलीको नेतृत्वबारे अहिले कुनै विकल्प खोज्ने विषयमा छलफल नहुने स्पष्ट पारे।