नारायणगढ–पोखरा सडक खुल्यो, काठमाडौंतर्फ अझै बन्द


काठमाडौं – चितवन प्रशासनले नारायणगढ–पोखरा सडकखण्डमा सवारी आवागमन खुला गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि आज मध्याह्नदेखि नारायणगढबाट पोखरातर्फ सवारीसाधन सञ्चालनमा आएका हुन् ।

तर, नारायणगढ–काठमाडौंतर्फको यात्रा भने अझै बन्द रहेको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा पहिरो झरेपछि नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं जाने–आउने सवारीसाधनमा रोक लगाइएको हो ।

वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात स्थानमा पहिरो झरेको प्रहरीले जनाएको छ । केही स्थानको पहिरो पन्छाइसकिएको भए पनि अन्य स्थानमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

सडक पूर्णरूपमा सुरक्षित भएपछि मात्रै काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइने प्रशासनले जनाएको छ ।