प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए, राष्ट्रसंघमा नेपालको सक्रिय सहभागिता


काठमाडौं – प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी नेपाल फर्किएका हुन्।

प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै महासभामा नेपालको सक्रिय सहभागिता रहेको बताए।

परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि गर्न योगदान पुगेको छ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गरेका थिए। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा न्यून भए पनि नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उनले बताएका थिए।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तन नेपालका लागि वातावरणीय विषय मात्र नभई मानवीय तथा विकासकै ठूलो चुनौती बनेको उल्लेख गरेका थिए। हिमाल र पर्माफ्रोस्ट पग्लिँदा हिमपहिरो तथा बाढीको जोखिम बढिरहेको भन्दै उनले जोखिम न्यूनीकरणका लागि ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेका थिए।

उनले जोखिमयुक्त हिमतालको नियमित निगरानी, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा सीमापार सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

जलवायु न्यायको विषय उठाउँदै प्रधानमन्त्री शाहले ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरूले थप जिम्मेवारी लिनुपर्ने बताएका थिए। साथै, ‘हानि तथा नोक्सानी कोष’ लगायतका जलवायु वित्तीय संयन्त्रमार्फत अनुदानमा आधारित स्रोत परिचालनलाई सहज बनाउन उनले आग्रह गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु संकटविरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघ नेपालको साथमा रहने प्रतिबद्धता जनाएका थिए।