अर्थमन्त्री वाग्ले कतार प्रस्थान, के छ कार्यक्रम ?


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

उनको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल सहभागी छन्।

दोहामा हुने बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उक्त अवसरमा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा छलफल गर्ने बताइएको छ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा नेपालका विकास प्राथमिकता, पूर्वाधारमा लगानी, जलवायु वित्त तथा विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल हुने बताइएको छ।

अर्थमन्त्री वाग्ले भ्रमण सम्पन्न गरी असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।