काठमाडौं – भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने भएको छ। मौसमविद्का अनुसार आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहे पनि एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्नेछ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी देखिएको हो।
न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि नेपालतर्फ प्रवेश गरेकाले गएराति मध्य भूभागका विभिन्न स्थानमा ठूलो वर्षा भएको अधिकारीले बताए।
अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेकाले यसको प्रभाव पनि क्रमशः घट्दै गएको उनले जानकारी दिए। यद्यपि आज केही स्थानमा वर्षाको गतिविधि जारी रहनेछ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा बादल लागेको छ। ती क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको अधिकारीले बताए।
चितवन र गण्डकीमा भारी वर्षाको सम्भावना
मौसमविद् अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।
कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा दिउँसो वर्षा हुने सम्भावना रहे पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको बताइएको छ। तर एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भने कायम छ।
मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद् अधिकारीले बताए।
आज रातिदेखि भने भारी वर्षाको सम्भावना नरहेको र मौसममा उल्लेख्य सुधार आउने पूर्वानुमान गरिएको छ।


















प्रतिक्रिया