काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। राज्यका विशिष्ट व्यक्तित्व नै सुरक्षित नरहेको अवस्था देखिनु र कानुनी प्रक्रिया मिचिने हो भने सर्वसाधारण नागरिकको सुरक्षामाथि पनि प्रश्न उठ्ने उनको भनाइ छ।
साहले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिने कार्यलाई गैरकानुनी र स्वेच्छाचारी भन्दै त्यसको विरोध गर्न नागरिकलाई आग्रह गरेका छन्। उनले कानुनी शासनको पक्षमा आवाज उठाउनसमेत आह्वान गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौँस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरीले सुरक्षा चुनौती देखिएपछि उनलाई सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको जनाएको छ।
यद्यपि, घटनाका क्रममा पक्राउ पुर्जी वा नियन्त्रणमा लिनुको स्पष्ट कानुनी आधारबारे प्रश्न उठेको साहले उल्लेख गरेका छन्। उनले घटनालाई नागरिक अधिकार, कानुनी शासन र राज्यको जवाफदेहितासँग जोडेर सम्बन्धित पक्षलाई सचेत हुन आग्रह गरेका छन्।


















प्रतिक्रिया