जनकपुरधाम । अविरल वर्षाका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। वर्षासँगै आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार धनुषाको मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो।
लगातारको वर्षाका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सीमावर्ती क्षेत्रमा मात्रै करिब २५० घर डुबानमा परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ मा कोशी बाँधको दक्षिणतर्फका थप करिब २०० घरमा पानी पसेको प्रवक्ता खनालले बताए।
लगातारको वर्षाका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित भएको छ। प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तथा वर्षाबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।


















प्रतिक्रिया