पहिरोका कारण मनकामना जाने सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा


काठमाडौं । पहिरोका कारण मनकामना मन्दिर जाने सडकखण्ड प्रभावित भए पनि मनकामना दर्शन तथा केबलकार सेवा नियमित रूपमा सञ्चालनमा रहेको मनकामना दर्शन (प्रा.) लि.ले जनाएको छ।

कम्पनीका अनुसार मनकामना पुग्ने मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि सवारी आवागमन केही प्रभावित भएको हो। पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न रोक लगाइएको छ।

पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देवघाटतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट पैदलमार्ग हुँदै मनकामना जान सकिने कम्पनीले जनाएको छ।

मौसम अनुकूल भएसँगै सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाउँदै कम्पनीले सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

कम्पनीले यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।