१८ देखि २८ वर्षसम्मका युवालाई सबै समितिमा अनिवार्य प्रतिनिधित्व गराउने देउवा समूहको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रसम्मका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य गर्ने व्यवस्था गरेको छ।

पार्टीको १५औँ महाधिवेशन समानान्तर रूपमा गर्ने तयारीमा रहेको समूहले जारी गरेको ‘निर्वाचन निर्देशिका २०८३’ मा युवा सहभागितालाई अनिवार्य सर्तका रूपमा राखिएको हो।

निर्देशिकाअनुसार जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुषलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, निर्वाचित हुने सबै तहका कार्यसमितिमा पनि उक्त उमेर समूहका एक महिला र एक पुरुष अनिवार्य रूपमा समावेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

युवा प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशिकाले सम्बन्धित उमेर समूहका युवा उपलब्ध नभए पद नै खाली राख्नुपर्ने व्यवस्था गरेको छ। अन्य उमेर समूहका व्यक्तिले त्यस्तो स्थान पूर्ति गर्न नपाउने प्रावधान राखिएको छ।

समावेशी समूहबाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेट्नुपर्ने व्यवस्था गरिएको छ। विषय विशेषज्ञका रूपमा मनोनीत गरिने सदस्यका हकमा समेत उक्त उमेर समूहका विशेषज्ञलाई अनिवार्य समेट्नुपर्ने निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा १८ देखि २८ वर्षको उमेरलाई नयाँ पुस्तालाई नीति निर्माण र पार्टीको सांगठनिक संरचनामा जोड्ने महत्वपूर्ण चरणका रूपमा व्याख्या गरिएको छ। युवा सहभागितालाई कोटाभन्दा पनि अनिवार्य व्यवस्थाका रूपमा लागू गर्न खोजिएको समूहको दाबी छ।

कांग्रेसको नेतृत्व तथा कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको देउवा समूहका नेताहरूको भनाइ छ। निर्देशिकामा गरिएको व्यवस्थाले पार्टीभित्र पुस्तान्तरण र अनुभवी नेतृत्वबीचको सहकार्यलाई नयाँ ढाँचामा अघि बढाउने अपेक्षा गरिएको छ।