काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क निर्धारण गरिएको छ। केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न पदका लागि शुल्क तोकिएको हो।
निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५ सय र महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। त्यस्तै प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ।
प्रदेश कार्यसमितिको सभापतिका लागि १० हजार रुपैयाँ तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६–६ हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रदेश कार्यसमिति सदस्यका लागि भने ३ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
जिल्ला कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
वडा सभापतिका लागि २ सय ५० रुपैयाँ, गाउँपालिका सभापतिका लागि १ हजार, नगरपालिका सभापतिका लागि २ हजार तथा उपमहानगरपालिका र महानगरपालिका सभापतिका लागि २ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ। प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५ सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
यसैबीच, विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले अघि बढाइरहेको महाधिवेशनका लागि भने छुट्टै मनोनयन शुल्क निर्धारण गरिएको छ। त्यसअन्तर्गत केन्द्रीय सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३०–३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।
विशेष महाधिवेशनबाट अघि बढाइएको प्रक्रियाका लागि संस्थापन पक्षीय केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्देशिकामा वडा सभापतिका लागि १ हजार, गाउँपालिका तथा नगरपालिका सभापतिका लागि ५ हजार र उपमहानगरपालिका तथा महानगरपालिका कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ मनोनयन शुल्क लिने उल्लेख छ।



















प्रतिक्रिया