कांग्रेस सभापतिमा गगनलाई ४० हजार, देउवालाई ३० हजार मतको चर्चा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीका दुई पक्षले फरक–फरक कार्यतालिकासहित तयारी अघि बढाएका छन्। सभापति गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ।

गगन पक्षले वडा र पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढाउँदै क्षेत्रीय अधिवेशनतर्फ प्रवेश गरेको छ। नेपाली कांग्रेसको आधिकारिक सूचनाअनुसार असोज १६–१९ गतेका लागि तय गरिएको महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।

उता देउवा पक्षले पनि छुट्टै महाधिवेशनका लागि संगठनात्मक तयारी तीव्र पारेको छ। यससँगै एउटै पार्टीको १५औँ महाधिवेशनका लागि दुई पक्षबाट समानान्तर गतिविधि अघि बढेका छन्।

दुवै पक्षले महाधिवेशनमा उम्मेदवारी दिने नेताहरूका लागि निर्वाचन दस्तुरसमेत फरक–फरक निर्धारण गरेका छन्। गगन पक्षले सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकेको छ भने देउवा पक्षले सभापतिका लागि ३० हजार रुपैयाँ निर्धारण गरेको छ।

देउवा पक्षले उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ। गगन पक्षले भने उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरेको जनाइएको छ।

क्रियाशील सदस्यको संख्यामा पनि दुई पक्षका फरक दाबी छन्। गगन पक्षले करिब ७ लाख क्रियाशील सदस्य रहेको दाबी गर्दै आएको छ भने देउवा पक्षले ७ लाख ३० हजार क्रियाशील सदस्य रहेको तथ्यांक प्रस्तुत गरेको छ।

यसरी महाधिवेशनको मिति, संगठनात्मक प्रक्रिया र निर्वाचन तयारीमा दुई पक्षबीच फरक–फरक गतिविधि अघि बढेपछि कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ। दुवै पक्ष आ–आफ्नो महाधिवेशन प्रक्रियालाई अघि बढाउने तयारीमा छन्।