काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि आन्तरिक समीकरण र पदाधिकारीका सम्भावित उम्मेदवारबारे चर्चा तीव्र बनेको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महत्वपूर्ण मानिने महामन्त्री पदमा विभिन्न नेताहरूको नाम चर्चामा आउन थालेको हो।
महामन्त्रीका सम्भावित आकांक्षीका रूपमा नेता डा. सुनीलकुमार शर्माको नाम पनि चर्चामा छ। शर्मासँगै वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्री उदयशमशेर राणालगायतका नेताहरूको नाम पनि चर्चामा रहेको छ।
शर्मा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। स्वास्थ्य तथा शिक्षा क्षेत्रसँगै सामाजिक सेवा, कार्यकर्तासँगको प्रत्यक्ष सम्पर्क र सार्वजनिक सरोकारका विषयमा उनले सक्रियता देखाउँदै आएका छन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्वमा रहेर सामाजिक गतिविधिलाई अघि बढाएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि सम्भावित उम्मेदवार र उनीहरूबीचको राजनीतिक समीकरणबारे पार्टीभित्र छलफल चलिरहेको छ। महामन्त्री पद संगठन सञ्चालन, नीति कार्यान्वयन तथा पार्टीका विभिन्न तहसँग समन्वयका दृष्टिले महत्वपूर्ण मानिने भएकाले यस पदको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्दै जाँदा उम्मेदवारी, राजनीतिक समीकरण र नेतृत्वका लागि बन्ने समूहहरू थप स्पष्ट हुँदै जानेछन्।



















प्रतिक्रिया