काठमाडौं । सरकारले बीमा दाबीअन्तर्गत हुने क्षतिको मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित र पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।
सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन उक्त प्रणाली विकास गरिएको हो। हाल सबै सर्भेयरको विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाइएको छ।
प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता र पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनोट गर्नेछ। तोकिएका मापदण्डअनुसार प्रणालीले स्वचालित रूपमा सर्भेयर छनोट गर्ने भएकाले प्रक्रिया थप पारदर्शी हुने अपेक्षा गरिएको छ।
कुनै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्था पहिचान तथा नियन्त्रण गर्नसमेत प्रणालीले सहयोग गर्नेछ।
यस्तै, कुन सर्भेयरले कति काम पाएका छन्, कुन काम सम्पन्न गरेका छन् र नयाँ जिम्मेवारी लिन सक्ने अवस्थामा छन् वा छैनन् भन्ने विवरण पनि प्रणालीमार्फत ट्र्याक गर्न सकिनेछ।
सरकारका अनुसार नयाँ प्रणालीले बीमा दाबीको क्षति मूल्याङ्कन प्रक्रियामा लाग्ने समय र लागत घटाउन समेत सहयोग पुग्नेछ।






















प्रतिक्रिया