अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा


काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन तथा सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा एकीकृत गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा प्राविधिक एकीकरण सम्पन्न भएको हो। यससँगै अपाङ्गता सम्बन्धी सूचना तथा सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमार्फत जोड्ने आधार तयार भएको छ।

प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको हो। हाल यो प्रणाली देशभरका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको जनाइएको छ।

एकीकृत प्रणालीले अपाङ्गता परिचयपत्र वितरणका मापदण्डलाई मानकीकरण गर्नुका साथै तथ्याङ्क अभिलेखीकरण, व्यवस्थापन र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीय तहदेखि संघीय तहसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध हुने भएकाले अपाङ्गता भएका व्यक्तिलक्षित सामाजिक संरक्षण कार्यक्रमको योजना निर्माण, सेवा प्रवाह तथा अनुगमनमा समेत सहयोग पुग्नेछ।

मन्त्रालयका अनुसार डिजिटल प्रणालीको विस्तारले अपाङ्गता भएका व्यक्तिसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र प्रमाणमा आधारित निर्णय प्रक्रियासँग जोड्न महत्वपूर्ण आधार तयार गरेको छ। यसबाट आवश्यकताको पहिचान गरी सेवा तथा कार्यक्रमलाई थप लक्षित बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

७५३ वटै स्थानीय तहलाई एउटै डिजिटल प्रणालीमा जोडिएको यो एकीकरणले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षण सेवा थप एकीकृत, तथ्यमा आधारित र प्रभावकारी बनाउने आधार तयार गरेको छ।