कानुन समिति बैठकमा एमाले सांसद सिद्धिकीको बहिष्कार


काठमाडौँ । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बहिष्कार गरेकी छन्।

बुधबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल भइरहेको थियो। छलफलकै क्रममा सांसद सिद्धिकी बैठकबाट बाहिरिएकी हुन्।

सिद्धिकीले बैठक बहिष्कार गरेर बाहिरिएको पुष्टि गर्दै सभापतिले बैठकलाई नियन्त्रणमा राख्न नसकेको बताइन्। उनका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गरेको र त्यसलाई सभापतिले रोक्न नसकेपछि असहमति जनाउँदै बैठकबाट बाहिरिएकी हुन्।

उपसमितिको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्न बाहेकका थुनुवालाई रीतपूर्वक थुनामुक्त गर्ने विषय उल्लेख भएकोमा पनि सिद्धिकीले असहमति जनाएकी थिइन्। अपराधमा संलग्न व्यक्तिलाई सजायबारे स्पष्ट व्यवस्था नगरी रिहा गर्दा भविष्यमा समस्या हुन सक्ने उनको भनाइ थियो।

त्यस्तै, सहकारी ठगीमा संलग्नलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गराउने विषयमा पनि उनले प्रश्न उठाएकी थिइन्। कैदीबन्दीमध्येबाटै नाइके कैदीबन्दी बनाउने विषयमा समेत आफ्नो असहमति रहेको उनले बताएकी छन्।

समितिको बैठकमा सिद्धिकीका असहमतिका विषयमा छलफल जारी रहेको बताइएको छ।