बाढीपहिरोको क्षति बढेपछि बागलुङ–म्याग्दीलाई संकटग्रस्त घोषणा गर्न माग


काठमाडौँ । नेकपाकी सांसद बालावती शर्माले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण दुवै जिल्लामा ठूलो क्षति पुगेको बताइन्। वर्षापछि विभिन्न स्थानमा सडक, विद्युत् र टेलिफोन सेवा प्रभावित हुँदा स्थानीयवासीको जनजीवन थप कठिन बनेको उनको भनाइ छ।

उनले विपद्का कारण दैनिक उपभोग्य वस्तुको समेत अभाव हुन थालेको बताउँदै प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शर्माले बागलुङ र म्याग्दीमा देखिएको अवस्था भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको जस्तै रहेको उल्लेख गर्दै सरकारले एउटै राहत प्याकेजमार्फत प्रभावित क्षेत्रलाई सम्बोधन गर्नुपर्ने माग गरिन्।

उनले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, सडक तथा विद्युत् सेवा पुनःस्थापना र आवश्यक पुनर्निर्माणका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइन्।