१५ औँ महाधिवेशनबारे देउवा समूहले निर्वाचन आयोगलाई बुझायो जानकारी


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी आफ्नो कार्यतालिकाबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो। सोहीअनुसार आफ्नो समूहले तय गरेको महाधिवेशन कार्यतालिकासहित आयोगलाई जानकारी गराइएको नेता एनपी साउदले बताए।

साउदका अनुसार देउवा समूहको महाधिवेशन तयारी पूरा भइसकेको छ। केन्द्रीय प्रतिनिधि, संयोजक र निर्वाचन अधिकृतहरू जिल्ला–जिल्लामा खटिसकेको उनले जानकारी दिए।

उनले भने, ‘हाम्रो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएर केन्द्रीय प्रतिनिधि, संयोजक र निर्वाचन अधिकृत जिल्ला–जिल्लामा खटिसक्नुभएको छ। भोलिबाट देशभर वडा अधिवेशन सुरु हुँदै छ। यसबारे हामीले आयोगलाई जानकारी गराइसकेका छौँ।’

देउवा समूहले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने जनाएको छ।

त्यस्तै, देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २१ गतेदेखि आफ्नो महाधिवेशन सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

यसैबीच संस्थापन पक्षले भने असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउँदै उद्घाटन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र १५ औँ महाधिवेशनको प्रक्रिया दुई पक्षबाट समानान्तर रूपमा अघि बढ्ने अवस्था बनेको छ।