काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयको कक्षाकोठाबाट सार्वजनिक जीवनको यात्रा सुरु गरेका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको दौडमा पुगेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
शिक्षक हुँदै प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका गिरीले त्यसपछि सक्रिय राजनीतिलाई आफ्नो कर्मभूमि बनाए। समुदायसँग प्रत्यक्ष जोडिएर काम गरेको शिक्षण अनुभवपछि स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका उनले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट चन्द्रागिरि नगरपालिकाको नगरप्रमुखमा लगातार निर्वाचित भए।

दुई कार्यकाल नगरको नेतृत्व गरिरहेका गिरीले स्थानीय तहमा प्राप्त अनुभवलाई अब पार्टीको केन्द्रीय संगठनमा उपयोग गर्ने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। शिक्षा क्षेत्रदेखि स्थानीय सरकारको नेतृत्वसम्मको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।
नगरप्रमुखका रूपमा काम गर्दा विकास निर्माण, पूर्वाधार, शिक्षा, प्रशासन तथा नागरिकका दैनिक समस्यासँग प्रत्यक्ष रूपमा जोडिएर काम गरेको अनुभवलाई पार्टी संगठनमा पनि उपयोग गर्न सकिने उनको धारणा छ। स्थानीय तहमा काम गर्दा जनतासँग प्रत्यक्ष संवाद र समन्वय गर्ने अवसर पाएको बताउँदै गिरीले कांग्रेसको संगठनलाई थप जनमुखी र प्रभावकारी बनाउन आफ्नो भूमिका रहने बताएका छन्।
गिरीको उम्मेदवारीसँगै चन्द्रागिरि कांग्रेसमा पनि महाधिवेशनको चर्चा बढेको छ। स्थानीय तहबाट राष्ट्रिय पार्टी नेतृत्वतर्फ अघि बढ्ने उनको प्रयासलाई चन्द्रागिरिका कांग्रेस कार्यकर्ताले चासोका साथ हेरिरहेका छन्।




















प्रतिक्रिया