सरकारलाई सांसद केसीको चेतावनी– जनताको धैर्यको बाँध टुट्न सक्छ


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि आम नागरिकको दैनिक जीवनमा परिणाममुखी परिवर्तन आउन नसकेको टिप्पणी गरेका छन् । उनले जनतामा सरकारप्रति व्यापक निराशा बढ्दै गएको भन्दै त्यसलाई समयमै सम्बोधन गर्न सरकारलाई सचेत गराएका छन् ।

केसीका अनुसार दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वमा समेत नागरिकले उत्सवको उल्लासभन्दा महँगी, बेथिति र राजनीतिक उदासीनताको सामना गरिरहेका छन् । सरकारले आम उपभोक्ताले प्रत्यक्ष महसुस गर्ने गरी बजार नियन्त्रण गर्न नसकेको उनको आरोप छ ।

‘वर्तमान सरकारका गतिविधिप्रति जनतामा आक्रोश होइन, व्यापक निराशा बढेको छ । निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ भन्ने हेक्का सत्तारूढहरूमा हुनु जरुरी छ,’ उनले भनेका छन् ।

उनले बजार अनुगमन नाममात्रमा सीमित भएको र अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । यसबाट मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्वसमेत खल्लो बनेको उनको भनाइ छ ।

सांसद केसीले जेनजी आन्दोलनको भावना तथा निर्वाचनबाट प्राप्त जनमतअनुसार राज्य सञ्चालनको शैली परिवर्तन हुनुपर्नेमा पुरानै राजनीतिक प्रवृत्ति र संस्कारले निरन्तरता पाएको आरोप लगाए । नेतृत्व फेरिए पनि कार्यशैलीमा परिवर्तन नआउँदा जनताका आकाङ्क्षामा चोट पुगेको उनले बताएका छन् ।

सरकार गठनको पृष्ठभूमिदेखि हालसम्म उठेका विभिन्न प्रश्नलाई बेवास्ता गर्दै सरकार मूकदर्शक बनेको आरोप लगाउँदै उनले यसले सुशासनको मर्ममाथि प्रश्न उठाएको उल्लेख गरेका छन् । जनताका प्रश्नको जवाफ दिनुको सट्टा विगतको आलोचनामा रमाउने र लोकप्रियतावादी शैली अपनाउने प्रवृत्तिले राज्यप्रतिको नागरिकको भरोसा कमजोर बनाइरहेको उनको टिप्पणी छ ।

बदलिँदो विश्व व्यवस्था, संवेदनशील भूराजनीतिक अवस्था र कठिन आर्थिक परिस्थितिका बीच सरकारले स्पष्ट रणनीति र दूरदर्शिता प्रस्तुत गर्न नसकेको पनि केसीले बताएका छन् । बढ्दो आर्थिक दबाब र जनताको निराशालाई सम्बोधन गर्न सरकारले ठोस कदम चाल्नुपर्ने उनको माग छ ।

उनले उपभोक्तालाई मार पर्ने गरी भइरहेको मूल्यवृद्धि, सिन्डिकेट र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । साथै, राजनीतिक नियुक्ति तथा प्रशासनिक सरुवा–बढुवामा देखिएको मनपरी अन्त्य गरी योग्यता, क्षमता र पारदर्शितामा आधारित प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

विधि र प्रक्रिया मिचेर अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै केसीले सरकारलाई जनताप्रति जवाफदेही हुन र कार्यशैली सुधार्न आग्रह गरेका छन् ।