झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको सम्भावित प्रभावका कारण झापामा बाढी र डुबानको जोखिम बढेको छ। सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।
मौसम प्रतिकूल हुने पूर्वानुमानपछि प्रशासनले पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ। भारी वर्षाले कृषि उपजमा क्षति पुर्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
प्रशासनका अनुसार भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै दैनिक जनजीवनमा समेत असर पर्न सक्छ। त्यसैले सर्वसाधारणलाई अनावश्यक लामो दूरीको यात्रा नगर्न र वर्षाका बेला सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन भनिएको छ।
अकस्मात् बाढी आउन सक्ने खहरे खोला तथा नदी आसपास यात्रा नगर्न, खोला किनारमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधिबाट टाढा रहन पनि प्रशासनले आग्रह गरेको छ। मौसमसम्बन्धी भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी पूर्वानुमान र सूचनालाई मात्र विश्वास गर्न भनिएको छ।
चक्रवातबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बुधबार सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठकसमेत गरेको जनाएको छ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सम्भावित भारी वर्षाका कारण धनजनको क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइएको बताए। उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ।
प्रशासनले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन र आधिकारिक निकायका सूचनाको पालना गर्न आग्रह गरेको छ।

















प्रतिक्रिया