चाडपर्वको सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला नागरिकको सुरक्षाका लागि अपनाइएका तयारीबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

उनले चाडपर्वका समयमा नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सुरक्षा निकायलाई सचेत गराएका छन्। साथै, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षाको व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन पनि निर्देशन दिएका छन्।

चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायबीच समन्वय बढाउन र नागरिकले सुरक्षित वातावरणमा पर्व मनाउन सक्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले जोड दिएका छन्।