रास्वपाका २० नेता चीन भ्रमणमा जाँदै, सुशासन र विकासका एजेन्डामा छलफल हुने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान तथा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा विशेषगरी सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ। साथै, विकास व्यवस्थापन, राजनीतिक दलको भूमिका र सार्वजनिक संस्थाहरूको प्रभावकारितासम्बन्धी अनुभव आदानप्रदानसमेत भ्रमणको महत्त्वपूर्ण पक्ष रहने रास्वपाले जनाएको छ।

रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने अवसरका रूपमा लिएका छन्।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।

रास्वपाले भ्रमणलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, नीतिगत अनुभव आदानप्रदान तथा विकासका क्षेत्रमा सम्भावित सहकार्यका विषय पहिचान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।

यस भ्रमणबाट चीनको विकास अनुभव, सार्वजनिक सेवा व्यवस्थापन र संस्थागत सञ्चालनका अभ्यासबारे रास्वपाको टोलीले जानकारी हासिल गर्ने अपेक्षा गरिएको छ।