काठमाडौँ । नेकपा (एमाले) ले आगामी मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने भएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला तथा मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गर्ने कार्यक्रमसमेत तय गरेको छ।
एमालेले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ। उक्त भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको छ।
त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुभव, कार्यसम्पादन तथा स्थानीय सरकार सञ्चालनका विषयमा छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।
यसैगरी, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमालेले जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पार्टीको निर्धारित कार्यतालिकाअनुसार बैठक आयोजना हुन लागेको जानकारी दिएका हुन्।
लगातार चार दिनसम्म विभिन्न तहका नेता, प्रतिनिधि तथा जनप्रतिनिधिहरू सहभागी हुने कार्यक्रम तय गरेको एमालेले राष्ट्रिय भेला, स्थानीय तहका जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठकमार्फत पार्टीका सांगठनिक तथा समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ।
केन्द्रीय कमिटीको चौथो बैठकलाई पार्टीका आगामी कार्यदिशा, संगठनात्मक गतिविधि र राजनीतिक परिस्थितिबारे छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
एमालेले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ र ३ गते राष्ट्रिय भेला, ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक हुनेछ।

















प्रतिक्रिया