गौरीघाटमा छठ पूजा गर्न राष्ट्रपति पौडेल अपराह्न ४ बजे जाने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) दिउँसो ४ बजे काठमाडौँको गौरीघाटस्थित छठ पूजास्थलमा पुगेर पूजाअर्चना गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको हो।

छठ पर्वका अवसरमा राष्ट्रपति पौडेल गौरीघाट पुगेर छठी माताको पूजाअर्चना गर्नुका साथै पर्वमा सहभागी श्रद्धालु भक्तजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने छठ पर्वमा श्रद्धालुहरू अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने गर्छन्। विशेषगरी तराई–मधेसमा मनाइँदै आएको यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि उल्लासपूर्वक मनाउन थालिएको छ।

राष्ट्रपतिको गौरीघाट भ्रमणलाई छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडेर हेरिएको छ।