काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि पहिलो सुनुवाइ हुने भएको छ।
यसअघि हिजोका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्नुका साथै नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।
सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद्ले निर्णय गरेकै दिन कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति बुझिसकेको गृह मन्त्रालयको दाबी छ।
अब सर्वोच्च अदालतमा हुने पहिलो सुनुवाइले कार्कीको रिटमा अघि बढ्ने न्यायिक प्रक्रियाको दिशा तय गर्नेछ।

















प्रतिक्रिया