आयकरको भार घटाएर करको दायरा बढाइएको छ : अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य सुशासन र प्रणालीगत सुधारमार्फत पूरा गर्ने दाबी गरेका छन्।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गत वर्षको तुलनामा करिब २७ प्रतिशत राजस्व वृद्धि गर्ने लक्ष्य महत्त्वाकाङ्क्षी भए पनि सरकार त्यसलाई हासिल गर्न प्रतिबद्ध रहेको बताए।

करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा गत वर्ष १२ खर्ब ५० अर्ब रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको उल्लेख गर्दै उनले कोभिड महामारीपछि राजस्व वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेकाले यसपटक लक्ष्य बढाइएको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले राजस्व सङ्कलनलाई तीव्र बनाउन आफू स्वयं सक्रिय हुने बताउँदै निजी क्षेत्रका समस्या र गुनासा सम्बोधन गर्न सरकार तयार रहेको पनि उल्लेख गरे। उनले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम राख्नुपर्नेमा जोड दिए।

उनका अनुसार सरकारले यस वर्ष आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारेको छ। करका दर घटाए पनि कर प्रणालीमा सुधार, सुशासन र राजस्वको दायरा विस्तारमार्फत सङ्कलन बढाउने सरकारको लक्ष्य रहेको छ।