काठमाडौँ । रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय गर्ने कम्पनीहरूमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आईएमईका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्।
सम्मान ग्रहण गर्दै अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले राज्यप्रतिको दायित्व पूरा गर्दै व्यवसाय विस्तार गर्न पाउनु खुसीको कुरा भएको पनि उल्लेख गरे।
सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले विभिन्न देशमा रहेका सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको जनाएको छ।
अध्यक्ष ढकालले आगामी दिनमा रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कम्पनीको पहिचान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले रेमिटेन्स व्यवसायसँगै आईएमईले विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ बनाउने तथा उन्नत प्रविधि, गुणस्तरीय सेवा र व्यावसायिक गतिशीलतामा जोड दिने बताए।
आईएमईले यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मान प्राप्त गरिसकेको छ। कम्पनीले रेमिटेन्स क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार गर्नुका साथै राज्यको राजस्वमा योगदान पुर्याउँदै आएको छ।

















प्रतिक्रिया