फेसबुकमा पार्टीविरुद्ध लेख्ने कार्यकर्तालाई अब छुट नदिने ओलीको चेतावनी


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक विषय सामाजिक सञ्जालमा सार्वजनिक गर्ने नेता–कार्यकर्तालाई अब माफी नदिइने चेतावनी दिएका छन्।

एमाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले महाधिवेशनका निर्णयमा असन्तुष्टि भए पार्टी कमिटीमा छलफल गर्न सकिने तर फेसबुकलगायत सामाजिक सञ्जालमा बारम्बार विरोध जनाउनु अनुशासनहीनता हुने बताए।

ओलीले केन्द्रीय कमिटी बैठकअघिसम्म भएका अनुशासन उल्लङ्घनका घटनालाई क्षमा गरिएको उल्लेख गर्दै अब त्यस्ता गतिविधि दोहोरिए स्वीकार्य नहुने स्पष्ट पारे।

उनले आफू पक्राउ पर्दा एमालेका कार्यकर्ता सडकमा नउत्रिने अभिव्यक्ति दिने पार्टी नेताप्रति पनि असन्तुष्टि जनाए। पार्टी र कार्यकर्ताको क्षमतामाथि प्रश्न उठाउने अभिव्यक्ति अनुचित भएको उनको भनाइ थियो।