सुकुमवासीलाई सडकमा पुर्‍याउने सरकारी निर्णयको एमालेद्वारा विरोध


काठमाडौँ । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुमवासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारको कदमलाई अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

घर भत्काएर पुनर्वासको आश्वासन दिने तर महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने कार्य संविधानप्रदत्त आवासको हकविपरीत रहेको उनको भनाइ छ ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या विस्थापनबाट नभई न्यायपूर्ण र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने भन्दै एमालेले सुरक्षित वैकल्पिक आवास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।