हेटौँडा । भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नागरिकको पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने भएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनःप्राथमिकीकरण गरी उक्त रकम व्यवस्थापन गर्न लागिएको हो । यसका लागि दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गरिनेछ । भौतिक पूर्वाधार तथा खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालयको बजेट २० प्रतिशत तथा अन्य छ मन्त्रालयको १५ प्रतिशत कटौती गर्ने तयारी छ ।
जुटाइने रकम सडक, पुल र भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा खर्च गरिने प्रदेश सरकारले जनाएको छ ।
स्थानीय तह तथा सरोकारवालासँग सुझाव लिएर आवश्यकता र प्राथमिकताका आधारमा आयोजना छनोट गरिनेछ । जोखिमयुक्त बस्तीको पहिचान, स्थानान्तरण र भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई समेत योजनामा समेटिने सरकारले जनाएको छ ।



















प्रतिक्रिया