Logo

नेपालमा घट्यो यस्तो घटनाः ‘दाजु भाउजुलाई दाम्लोले बाँधेर औँठाछाप’

अंशवण्डासम्बन्धी विवादमा जनकपुरमा आफ्नै दुई भाइले दाजु र भाउजुलाई दाम्लोमा बाँधेर कुटपिट गरी कागजमा औँठाछाप गराएको खुलासा भएको छ । जनकपुर उपमहानगरपालिका २१, कुर्था बस्ने रामएकबाल मण्डल र रामकेवल मण्डलका परिवारले दाजु र भाउजुलाई दाम्लोले बाँधेर कागजमा औँठाछाप गराएको खुलासा भएको हो ।

उनिहरुले दाजु शिवजी मण्डल र भाउजू शान्तिदेवी र बुहारी अमृता देवीलाई दाम्लोले बाँधेर कुटपिट गर्दै कागजमा औँठाछाप गराएको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई जबरजस्ती घरबाट निकालेर कुटपिट गर्नुको साथै बाँधेर औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले दुखेसो पोख्नुभयो । उनीहरुलाई नेपाली कांग्रेस र राजपाका स्थानीय नेतालगायत लेखनदासले समेत सहयोग गरेको अनिलले बताउनुभयो ।

कांग्रेसका स्थानीय नेताहरु राजाराम मण्डल, महेन्द्र महतो, उमेश यादव, राजनारायण साह र राजपाका परमेश्वर साहलगायत र लेखनदास ओपेन्द्र साह समेतको संलग्नतामा आफ्ना बुवाआमालाई निर्घात कुटपिट गरी जबरजस्ती औंठाछाप गराइएको अनिलको भनाई छ । कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार दुवै भाइका छोराहरु सन्तोष, मनिष, ओमकार, रवि र आनन्द मण्डलले निर्घात कुटपिट गरी जबरजस्ती औँठाछाप गराएका हुन् । दाजुभाइबीच पहिल्यैदेखि अंशबण्डासम्बन्धी विवाद चल्दै आएको थियो । दाजु शिवजीले मुद्दा जितेर भोगचलन गर्दै आएको जग्गा भाइहरुले जबरजस्ती आफूहरुको नाममा गर्न दबाब दिँदै आएका थिए ।

शिवजीसहित घाइते तीनै जनाको उपचार जनकपुुर अञ्चल अस्पतालमा भैरहेको छ । घाइतेमध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । पिडितले दोषीलाई कारबाहीका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । भाइहरुको कुरा नमानेपछि आज बिहान उनीहरु पुरै परिवार शिवजीका परिवारमाथि जाइलागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्