Logo

ओली सरकारले हवाइ भाडा पनि बढाउने भयो, कहाँ जाँदा कति लाग्छ ?

नेकपाको नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकारले आन्तरिक उडानतर्फको भाडा पनि बढाउने तयारी गरीरहेको छ । अब आगामी मंगलबारदेखि आन्तरिक उडानफर्तको भाडा बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो ।

वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेश बर्माकाअनुसार यो भाडा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै लागू हुनेछ ।सरकारले हवाई इन्धनको भाडा बढाएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक उडानतर्फकाो भाडा बढाउन लागेको हो । सरकारले हिजो आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

नयाँ भाडादरअनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो । यो रुटमा थप २ सय २० रुपैयाँको इन्धन शुल्क बढेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

त्यस्तै माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ । यसअघि ११ हजार ३ सय मा रहेकोमा माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।त्यस्तै नेपालगंज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ ।

पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ । भाडा र यात्रु सेवा शुल्क पुरानै कायम भएपनि अहिले बिमान सञ्चालकहरुले इन्धन शुल्क बढाएका छन् । जसका कारण कुल भाडा नै बढ्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्