सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आउनुभएकोछ । “म पेशाले निर्माण व्यवसायी हँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भन्नुभयो । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताउनुभयो ।
“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भन्नुभयो । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उहाँले बताउनुभयो । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उहाँले बताउनुभयो । बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुनुहुन्छ । उहाँले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताउनुभयो । “म नेपाली सेनामा हवल्दार हँुदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उहाँले भन्नुभयो ।
अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताउनुभयो । भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया