Logo

जन्नुहोस : दिनको चार कप कफीले घटाउँछ रोग ! यस्ता छन् अन्य फाइदा

तपाईं कफी पिउनु हुन्छ भने यसले तलतल मेट्ने मात्र होइन, तपाईंको स्वास्थ्य सुधार्ने छ, आयु पनि बढाउनेछ। हालै अमेरिकामा भएको अध्ययनले कफी नखानेहरूको तुलनामा खानेहरूको आयु लामो हुने देखाएको हो। यो अध्ययनमा दैनिक कम्तिमा चार कप कफी पिउने २० हजार जना सहभागी थिए।

कहिल्यै कफी नपिउने वा कहिलेकाहीँ पिउनेका तुलनामा नियमित पिउनेहरूको अल्पायुमै निधन हुने सम्भावना ६४ प्रतिशत कम भएको अध्ययनले देखाएको छ। अझ ४५ वर्षमाथिकालाई त यो झनै फाइदाजनक देखिएको छ। उमेर बढेसँगै स्वास्थ्यमा आउने समस्याहरू कम गर्न कफी निकै लाभदायक भएको अध्ययनको निष्कर्ष छ। उमेर घर्किँदै गएकाहरूले कफी पिउनु थप लाभदायक!

यसअघि अमेरिकामै भएको अध्ययनले पनि यस्तै देखाएको थियो। राष्ट्रिय क्यान्सर इन्सटिच्युटको सहकार्यमा भएको उक्त अध्ययनमा झन्डै एक लाख ८६ हजार सहभागी थिए। ४५ देखि ७५ वर्षका सहभागीलाई उक्त अध्ययनका लागि करिब १६ वर्ष निगरानी गरिएको थियो।

अध्ययनले कफी पिउनेको तुलनामा नपिउनेहरूको मृ’त्यु चाँडै भएको फेला पारेको थियो। मृ’त्यु हुने मुख्य कारण हृदयाघात, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह र मिर्गौलाका समस्या थिए। कफीले यी रोगको सम्भाव्यता कम गर्ने पाइएको छ। साथै कलेजो, अल्जाइमर्स र छालाको क्यान्सर जोखिम कम गर्ने अध्येताहरूले बताएका छन्।

अमेरिकाको राष्ट्रिय कफी एसोसिएसनका प्रवक्ता जो डेरूपोका अनुसार कफीमा धेरै ‘एन्टिअक्सिडेन्ट’ हुन्छ। कतिपय कफीमा प्राकृतिक रूपमै यो तत्व हुन्छ भने कतिमा कफी भुट्ने (रोस्टिङ) प्रक्रियामा हालिन्छ। एन्टिअक्सिडेन्टले शरीरमा भएको फोहोर सफा गरी स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ।

कफीमा पाइने केही तत्वले कलेजोलाई पनि फाइदा पुर्‍याउने अनुसन्धाता टोलीका नेता भी. वेन्डी सेटियावान बताउँछन्। उनी केक स्कुल अफ मेडिसिन अफ युएससीका एसोसिएट प्रोफेसर हुन्।

कफी स्वास्थ्यका निम्ति फाइदाजनक भए पनि कसरी खाने बारे ध्यान पुर्‍याउन भने जरूरी छ। अध्येताहरूका अनुसार गर्भवती भएका बेला धेरै कफी खान हुँदैन। गर्भवतीले दिनको एक कप कफी खाँदा भने जोखिम नहुने हालका अध्ययनले देखाएका अमेरिकन कलेज अफ अब्सटेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स कमिटी अन अब्सटेट्रिक प्र्याक्टिसका अध्यक्ष डा. जोसेफ व्याक्स बताउँछन्।

‘दिनको एक-डेढ कप कफीले बच्चा खेर जाने वा चाँडै जन्मने समस्या बढाएको देखिएको छैन,’ डा. व्याक्सका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘त्योभन्दा धेरै खानेमा भने जोखिम धेरै पाइएको छ। कफीमा हुने क्याफाइनले बच्चाको विकासमा कस्तो प्रभाव पार्छ भन्ने बारे चाहिँ यथेष्ट प्रमाण फेला परिसकेको छैन।’ त्यस्तै पहिलेदेखि मुटुको समस्या छ भने पनि कफी कमै खान डाक्टरहरू सुझाउँछन्।

अमेरिकन हार्ट एसोसिएसनका प्रवक्ता तथा वरिष्ठ उपाध्यक्ष डा. भिन्स बुफालिनोका अनुसार कफीले मुटुको गति बढाउँछ। एक-दुई कपसम्म पिउनु सामान्य भए पनि मुटुको अवस्था हेरी खानै नहुने पनि हुनसक्छ। कफीले हाडहरूमा क्याल्सियम कम गर्छ पनि भनिन्छ। तर पर्डु विश्वविद्यालयका प्राध्यापक कोनी विभर यसमा आत्तिनु नपर्ने बताउँछन्।

उनका अनुसार क्याफाइनले कम गर्ने क्याल्सियमको आपूर्ति शरीरमा उत्पादन हुने क्याल्सियमले सहजै गर्छ र यसले समग्र शरीरको क्याल्सियम मात्रामा प्रभाव पार्दैन। उनले हालै मात्र क्याल्सियम र हाड स्वास्थ्य बारे पनि अध्ययन गरेका थिए। अध्येता र पोषणविज्ञहरूले दूध र चिनी नहालेको कफी खान सुझाएका छन्। चिनी हालेको कफीले फाइदाभन्दा बेफाइदातिर धकेल्न सक्छ।

प्रतिक्रिया दिनुहोस्