Logo

एन्टिभाइरल औषधिको संयोजनबाट कोरोना भाइरसको सफल उपचार ! सेयर गरौ

एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका एक बिरामीको सफल उपचार गरेका छन्। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भाइरस सङ्क्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन्।

एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार संभव भएको बताइएको छ। ती वृद्धालाई यसअघि एचआइभी विरूद्धको औषधिबाट मात्रै उपचार गरिएको थियो।

उक्त उपचारविधिबाट सन्तोषजनक नतिजा आएको उपचारमा संलग्न डाक्टर क्रियांग्सक एटिपोर्नवानिचले बताए। ‘उपचारविधिबाट ४८ घण्टाभित्रै बिरामीको अवस्थामा सुधार आयो र परीक्षणको नतिजामा पनि सोही अवधिमा कोरोना भाइरसको संक्रमण पोजेटिभबाट नेगेटिभ देखायो,’ उनले भने।

पछिल्लो परीक्षणमा बिरामीको श्वासप्रश्वास प्रणालीमा भाइरस नदेखिएको अस्पतालले जनाएको छ। केही समयअगाडि मात्रै अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजले कोरोनाभाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको बताएको थियो।

बेइजिङका अस्पतालहरुले पनि एचआइभी र एड्सका बिरामीलाई दिइने औषधिको प्रयोग गरेर कोरोनाभाइरसको उपचार गरेको भनिए पनि यो सफल भए/नभएको स्पष्ट छैन।

प्रतिक्रिया दिनुहोस्